दार्चुला– लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारबाहीको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेको र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारबाहीको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिइएको वडा कार्यालयले जनाएको छ ।
जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्यांक वडा कार्यालयसँग छ । मृतकका नाममा साउनदेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयले कानुनी कारबाहीको मागसहित वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय भुवन जोशीले बताए ।
पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापत २४ हजार खाएको आरोप प्राविधिक बोहरामाथि लागेको छ । तेस्रो चौमासिकको रकम वितरणको बेला वडा कार्यालयले सूचना जारी गरेको थियो । मृतक जोशी परिवारले सामाजिक सुरक्षा भत्ता लिन आएका थिएनन् । मृतक परिवारले आफूहरुले मरेको मान्छेको रकम नलिने भनेपछि यसअघि सो रकमको बारेमा चासो बढेको थियो ।
‘ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सार्वजनिक सूचना गर्दा मृतक जोशीको नाममा सामाजिक सुरक्षा भत्ता निकासी भइरहेको देखिएको हो,’ वडाध्यक्ष दीपेन्द्र बोहराले भने ।
‘तेस्रो चौमासिकमा मान्छे सम्पर्कमा नआएपछि कोलेनिकाबाट रकम फिर्ता गर्न लगाए । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको लगत काट्न बिर्सिँदा रकम हिनामिना भएको देखिन्छ,’ वडाध्यक्ष बोहराले भने ।
सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा वडाध्यक्ष बोहरा, वडा सचिव लक्ष्मणराज विष्ट र प्राविधिक हरसिंह बोहरा तीनै जना दोषी देखिएकाले उनीहरुलाई उचित कारबाही हुनुपर्ने माग आफूहरुले राखेको स्थानीयको माग छ ।