नयाँ दिल्ली– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ । झन्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।
उनका छोरा तथा पूर्वसांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।
मुखर्जी भारतको १३औं राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुपहिले भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।
उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो ।