काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकी नेता उमा भुजेल सप्तरीबाट रिहा भएलगत्तै साँझ पार्टी सम्पर्कमा पुगेकी छन् ।
उनीसँगै सुमनसिंह पौडेललाई पनि आजै रिहा गरेको छ । दुबै जनालाई सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतबाट सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरूलाई रिहा गरेको थियो ।
रिहा भएलगत्तै अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर बाहिरिएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिएको थियो ।
उनीहरू मुक्त भएपछि पार्टी सम्पर्कमा पुग्न सफल भएको पार्टी स्रोतले बताएको छ । ‘अदालतको आदेशपछि रिहा भएका दुबै जना नेताहरु पार्टी सम्पर्कमा पुग्न सफल हुनु भएको छ । उनीहरु सुरक्षित छन्’, स्रोतले बतायो l
दुबै जना नेताहरूलाई अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो ।
जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ परेका थिए । सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।