काठमाडौं– कांग्रेस नेता गगन थापाले बढ्दो कोरोना संक्रमण दर रोक्न काठमाडौं महानगरलाई तत्कालै गर्नेपर्ने ६ वटा काम सुझाएका छन् । थापाले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण, आइसोलेसनलगायतको व्यवस्थापन गरेर संक्रमण कम गर्न सकिने भन्दै कामनपाका प्रमुख र स्वास्थ्य विभागका प्रतिनिधिसँग छलफल गरी ६ वटा काम गर्न सुझाएका हुन् ।
थापाले महानगरलाई संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सल्लाह लिन सल्लाह दिएका छन् । उनले भने, ‘महानगरभित्र कन्ट्याक्ट टे«सिङ ढिला छ । यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्नुपर्छ ।’
उनले कन्ट्याक्ट ट्रेसिङबाट आएकाको वडा वा टोलमै परीक्षण गर्न सुझाव दिएका छन् । उनका अनुसार अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकार र आइसोलेसनको जिम्मा स्थानीय सरकारले लिनुपर्छ । उनले भने, ‘काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्डबमोजिमका सामुदायिक आइसोलेसन सेन्टर र कुनै प्रयोगमा नआएका भवनहरु लिएर तत्कालै आइसोलेसन सुचारु गर्नुपर्छ ।’
उनले १–२ घण्टा पसल खोल्न दिँदा भीडभाड बढी हुने भएकाले बिहानदेखि राति ८ बजेसम्म पसल खोल्ने व्यवस्था मिलाउन सुझाएका छन् । त्यस्तै, उनले कोरोना संक्रमणसँग जोडिएका सूचना लिनदिन वडामा संयन्त्र बनाउनसमेत सुझाएका छन् ।
