पछिल्लो केही दिनयता नेपालको सुनौलो रङ्गको कछुवाको चर्चा विश्वका विभिन्न देशहरुमा भइरहेको छ । नेपालको धनुषाधाम नगरपालिका, जनकपुरमा सुनौलो रङ्गको दुर्लभ कछुवा भेटिएको रिपोर्टलाई अन्तर्राष्ट्रियकरण गरिएपछि विश्वमा यसको चर्चा भएको हो ।
सन् २०१८ को अप्रिल १४ जनकपुरमा सुनौलो कछुवा देखिएको थियो । ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’का संरक्षणकर्मी चन्द्रदीप सदाको पहलमा कछुवाको उद्धार गरिएको थियो । उद्धारपछि तत्कालै सो कछुवालाई सुरक्षित जंगलमा छाडिएको थियो ।
यसको दुई वर्षभन्दा बढी समयपछि यो खबर विश्वभर विज्ञान तथ वन्यजन्तु अनुसन्धानको जगतमा फैलिएको छ । नेपालमा भेटिएको सुनौलौ कछुवाबारे अध्ययनको रिर्पोट आएसँगै नेपालमा पहिलोपटक भेटिएको र विश्वमै यो पाँचौ घटना भएको तथ्य सार्वजनिक भएको छ ।

नेपालको जनकपुरमा भेटिएको सुनौलौ कछुवा ।फोटोः देवनारायण मण्डल, कमल देवकोटाबाट प्राप्त
के हो सुनौलो कछुवा ?
सुनौलो कछुवाबारे अध्ययन गरेका सरिसृप विशेषज्ञ कमल देवकोटाका अनसार यसको वैज्ञानिक नाम ‘लिस्सेमिज पङ्कटाटा एण्डरसोनी’ हो ।
यस प्रजातिको कछुवालाई नेपालमा ‘मतिहारा कछुवा’, ‘पुतली कछुवा’ र विशेषतः तराईतिर ‘सेवेई’ नामले पनि चिनिन्छ ।
नेपालमा विविध र दूर्लभ वन्यजन्तुहरु पाइने उल्लेख गर्दै विशेषज्ञ देवकोटाले भने, ‘वन्यजन्तुको खोजी र अध्ययनको लागि नेपाल प्रशिद्ध छ । अहिले सार्वजनिक भएको पहेँलो कछुवा भेटिएको नेपालमा पहिलो घटना हो । विश्वमा भने यसै प्रजातिको कछुवा भेटिएको पाँचौ घटना हो ।’
कसरी सुनौलौ ? के हो ‘क्रोमेटिक ल्युसिजम’ ?
सामान्यतया कछुवा यस्तो हुन्छ । यही प्रजातिका एक कछुवा सुनौलो रंगमा परिणत भएको थियो ।
फोटोः कमल देवकोटाबाट
यस प्रजातिको सामान्य र वास्तविक रङ्ग हरियो हुन्छ । आनुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेशन)का कारण कुनै पनि जीवजन्तुको रङ्ग परिवर्तन हुन सक्ने विज्ञले बताएका छन् । यसका कारण शरीरका विभिन्न भाग (छाला, आँखा, कपाल, खपटा आदि)लाई रङ्ग दिने तत्व परिवर्तन भइ यसले स्वाभाविक बाहेक अन्य रङ्गमा बदल्न सक्छ ।
यसलाई विज्ञानकको भाषामा ‘एल्बिनो’ वा ‘ल्युसिजम’ भनिन्छ । यस्तो अवस्थामा शरीरको शरीरको भाग सेतो, फिक्का पहेंलो पनि हुनसक्छ । साथै शरीरमा दागहरु पनि देखिन सक्छ ।
नेपालमा भेटिएको कछुवामा पहेँलो रंग बढी भएका कारण सुनौलो देखिएको हो । कछुवामा भएको यो सुनौलो परिवर्तनलाई ‘क्रोम्याटिक ल्यूसिजम’ भनिएको छ ।
सर्पको काममा जाँदा कछुवाको कुरो
कमल देवकोटा सरीसृपमध्ये विशेषतः सर्पको अनुसन्धानमा सक्रिय छन् । केही महिनाअघि विभिन्न प्रजातिको सर्पको अध्ययन गर्ने क्रममा उनको भेट मिथिला वाइल्ड लाइफ ट्रस्टका देवनारायण मण्डलसँग भयो ।
देवकोटाले नेपाली पब्लिकलाई सुनाए, ‘सर्पको रेस्क्यूको क्रममा मलाई साथीहरुले दुई वर्षअघि पहेँलो कछुवा फेला पारेको सुनाउनुभयो । मलाई यसमा चासो लाग्यो ।’
त्यसपछि देवनारायण मण्डलसँग मिलेर देवकोटाले वैज्ञानिक अध्ययन गरे । ‘हामीले यसको साइन्टिफिक टर्मस्हरु खोज्यौं, अध्ययन गर्यौं र एउटा रिपोर्ट तयार पार्यौं’ उनले भने । अनि सुरु भयो यसको अन्तर्राष्ट्रियकरण ।
यसरी विश्वमाझ नेपालको कछुवा ?
यस कछुवाबारे अध्ययन गरी विशेषज्ञ कमल देवकोटाले देवनारायण मण्डल र हेनरिक केसर (अमेरिकी प्राध्यापक) मिलेर एक संयुक्त अध्ययन रिपोर्ट लेखे । त्यसलाई सरीसृप र उभयचर सम्बन्धी वैज्ञानिक अनुसन्धान प्रतिवेदन प्रकाशित गर्ने जमर्नीको जर्नल ‘हर्पेटोलोजी नोटस्’मा पठाए ।
यस अध्ययनको ‘क्रस चेक’ तथा ‘पियर रिभ्यू’ अध्ययनले जीवजन्तु विज्ञसँग थप जानकारीसहित हर्पेटोलोजी नोटस्ले प्रकाशित ग¥यो । देवकोटाले ‘नेपालमा पहिलो’ मात्र उल्लेख गरेर पठाएको रिपोर्टमा ‘विश्वको पाँचौ तथ्य’ भनी थपिएर आयो र यसले अन्तर्राष्ट्रियकरण हुन सहज बनायो ।
यस जर्नलमा प्रकाशित हुने बित्तिकै यसले मान्यता पायो । साथै विश्वका थुप्रै भाषामा प्रकाशित हुने नेदरल्याण्डको ‘ग्लोबल भ्वाइस’मा यसबारे जानकारी प्रकाशित भएपछि नेपालको सुनौलो कछुवा अन्तराृष्ट्रियकरण भयो ।
यसक्रमा युरोप, अमेरिकाका, एसियाका विभिन्न मिडियाले यसलाई प्राथमिकताका साथ प्रकाशित गरे ।
किन असुरक्षित छन् कछुवा ?
नेपाल टोक्सिनोलोजी एसोसिएशनका विशेषज्ञ समेत रहेका देवकोटाले नेपालमा १७ प्रजातिका कछुवाहरु रहेको अनुसन्धानकर्ताको खोजले देखाएको बताए । त्यसमध्ये एक प्रजातिमा भने अझै अध्ययन जारी छ । जसको अस्तित्व छ कि छैन भन्ने निक्र्योैल भइरहेको छैन ।
नेपालमा १६/१७ मध्ये १५ प्रजाति संवेदनशील र दुर्लभ अवस्थामा छन् । यसमा चार प्रजाति लोप हुने अवस्थामा छन् । यसबारे सचेत भएर संरक्षण नभए यी कछुवाहरु हराउने देवकोटले बताए ।
सुनौलो भएकाले यस्तो कछुवा हेर्दा निकै आर्कषक देखिन्छ र यसको चोरी सिकारी हुने खतरा उत्तिकै रहेको उनले बताए । उनी भन्छन्, ‘प्रकृतिमा सुरक्षित रहन कठिन छ यो कछुवालाई । कछुवाको अन्तर्राष्ट्रिय व्यापारीकरण, अवैध ओसारपसारको खतरा छँदैछ ।’
कछुवाको मासुले विविध रोगहरु निर्मूल पार्ने स्थानीय विश्वासका कारण पनि यसको चोरी सिकारी हुने गरेको छ । कछुवाको मासु र यसको अण्डाहरू खाँदा स्वास्थ्यमा सुधार हुन्छ तथा आयु बढ्ने जनविश्वास रहको छ ।
साथै अहिले अन्तर्राष्ट्रिय रुपमा एक्वारियममा सजाउनका लागि पनि कछुवाको खोजी हुने गरेको छ ।
नेपालमा कछुवाको अवस्था
नेपालमा १६ प्रकारका कछुवा पाइन्छन् । जसमध्ये लोप हुने अवस्थामा पुगेका ४ प्रजातिका कछुवाहरुमा तीन धारी खपटावाला कछुवा, रातो टाउको भएको खपटावाला कछुवा, लामो कछुवा तथा पातलो टाउकोमा नरम कोष भएको कछुवा लोपोन्मुख सूचीमा रहेका छन् ।
एक अनुसन्धान रिपोर्टको अनुसार कछुवाहरूले किरा तथा मरेका जनावरहरू खाएर वातावरणको प्रदूषण रोक्नका लागि भूमिका खेल्ने गरेको पाइएको छ ।
नेपालमा पाइने कछुवाहरु । यसमा रातो चिन्ह लगाएकाहरु संवेदनशील अवस्थामा छन् । केही लोप हुने अवस्थामा पुगेका छन् ।
हर्पेटोलोजी नोटस्मा प्रकाशित देवकोटा समूहको रिपोर्टको पूर्ण पाठ अंग्रेजीमा
धार्मिक महत्व पनि
कछुवाको आध्यात्मिक महत्व पनि भएको उल्लेख गरेका छन् । नेपाल लगायत देशमा धार्मिक मुल्य र मान्यताको दृष्टिकोणले हेर्ने हो भने यसको धेरै अर्थ रहेको छ ।
देवकोटाकाअनुसार हिन्दु धर्ममा भगवान विष्णुले ब्रह्माण्डलाई विनाशबाट बचाउनको लागि कछुवाको रूप लिएको र हिन्दु मान्यताअनुसार कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई पृथ्वी मानिने विश्वास रहेको बताउँछन् ।
(कमल देवकोटासँगको कुराकानी, हर्पेटोलोजी नोटस् जर्नल जर्मनी, ग्लोबल भ्वाइस नेदरल्याण्ड, रेकर्ड नेपाल, डेली मेल युके, टाइम्स नाउ न्यूज अमेरिकालगायतको सहयोगमा)
भारतमा हालसालै यस्तै सुनौलौ कछुवा भेटिएपछि नेपालमा दुई वर्षअघि भेटिएको तथ्य बाहिर आएको हो । भारतको कछुवाको भिडियो यहाँ हेर्न सकिन्छ ।