धनगढी । कञ्चनपुरको बेलडाँडी–३ का बासिन्दा हरिकिसन रानाको हत्या भएको लामो समय बितिसक्दा पनि अनुसन्धान प्रक्रियामा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै उनका १८ वर्षीय छोरा भुवन रानाले न्यायको माग गरेका छन्।
अनुसन्धान ढिलो भएकोप्रति असन्तुष्टि जनाउँदै उनले आज धनगढीको बोलन्या थलीमा पुगेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। पीडित परिवारले घटनाको सत्य तथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
भुवनले “बुवाको हत्याको न्याय कहिले पाइन्छ ?” भन्ने प्रश्न उठाउँदै राज्य संयन्त्रप्रति आक्रोश व्यक्त गरेका छन्। उनले अनुसन्धानलाई छिटो टुंगोमा पुर्याई पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस्तो छ घटनाको नालिबेली
गत बैशाख ९ गते बिहान कलकत्ता जान मोटरसाइकलमा निस्किए। तर केही घण्टामै उनी बेलौरी नगरपालिका–१०, शिवनगरस्थित मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परे। उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटियो। प्रारम्भिक दृष्टिमा देखिएको दुर्घटनाभन्दा यो घटना भयावह र रहस्यमय भएको आशंका गरियो ।
शरीरको जल्ने तरिका र मोटरसाइकलको अवस्था हेर्दा, हत्या गरिएको परिवारको दाबी थियो ।
घटनास्थलमा तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालय र सीआईबीको टोली समेत खटिएको थियो । तर प्रहरी एकिन कारण अहिलेसम्म पत्ता लगाउन सकेको छैन् ।
यो निर्मम घटनाले स्थानीयमा त्रास त फैलिएको नै छ दोषी पत्ता लगाइयोस् भन्दै प्रहरीमाथि दबाब उत्तिकै बढ्दो छ।