काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।
एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो ।
राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।