साहित्यकारहरूले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई श्रद्धाञ्जली दिँदै उनका गुन सम्झिएका छन् । कतिले उनको कवित्व शक्तिको प्रशंसा गरेका छन् । घिमिरेको निधनमा साहित्यकारहरुले यसरी श्रद्धाञ्जली दिएका छन्-
डा. रामप्रसाद ज्ञवाली, कवि तथा समालाेचक
मृत्यु नै अन्तिम सत्य हो । राष्ट्रकवि माधवप्रसाद घिमिरे दीर्घजीवी भएर बाँच्नुभयो । बाँचुन्जेल सिर्जना गरेर बाँच्नुभयो, गतिशील जीवन बाँच्नुभयो ।

नेपाली छन्द साहित्यलाई शिखरमा पुर्याए । सदैव सकारात्मक सोचका साथ कविता लेख्नुहुन्थ्यो । केही पंक्तिका साथ हार्दिक श्रद्धाञ्जली :
जिन्दगानी रहेसम्म जिन्दगानी छर्नुपर्छ
मरिन्छ, मर्नु नै पर्छ, नमरी मर्नु पर्दछ
युगले जन्मने मान्छे, युग भित्र बिलाउँछन्
युग जन्माउने मान्छे, युगौंसम्म सम्मान पाउँछन् ।
मोहन दुवाल, प्रधान सम्पादक, जनमत मासिक
नेपाली कविता साहित्यमा कहिले बिर्सन नसकिने काव्य मर्म हुन्, घिमिरे । उनी काव्य साहित्यको मर्मशील र ऊजावान् कवि हुन् । उनको योगदान जति चर्चा गरे पनि कम हुन्छ ।
डा. तुलसी भट्टराई, कवि
पछिल्लो शताब्दीका महान् साहित्यकार एवं छन्द कविका रूपमा अद्वितीय योगदान पु¥याउनुभएको छ । उहाँको कवित्व परम्परालाई धेरैले अनुसरण गरेका छन् । विशेषगरी उहाँलाई प्रखर राष्ट्रवादी कविका रुपमा सदैव सम्झिरहनेछौं ।
माया ठकुरी, आख्यानकार
राष्ट्रकवि माधव घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँको निधनले राष्ट्र र नेपाली साहित्यमा अपुरणीय क्षति पुगेको महसुस गरेको छु । उहाँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।