काठमाडौं– 'देशद्राेही' गीतको म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाइएको दृश्य राखिएपछि अहिले त्यसको विरोध भइरहेको छ । गीतको म्युजिक भिडियोको दृश्यमा मात्रै होइन, शब्दलाई लिएर पनि विरोध गरिएको छ ।
गीतले मंगोल आन्दोलनको नाममा बाहुन क्षेत्रीलाई गाली गरी सामाजिक सदभाव खलल पार्न खोजेको भन्दै गीतको विरोध भएको हो ।
मनोज ग्याजलीले गाएको उक्त गीतको विरोध गर्दै अभिनेता पल शाहले लेखेका छन्, ‘सबै सहन्छौं तर देशको झन्डा जलाउने अधिकार कोही कसैलाई छैन । सिंगाे देशको गौरव राष्ट्रिय झन्डा जलाउनेलाई कडा कारबाही गरियोस र यो भिडियो र अडियोको सम्पूर्ण टिमलाई कडाभन्दा कडा होस !’
फेसबुकमा शेखर विकल्प लेख्छन्, ‘मंगोल आन्दोलनको नाममा बाहुन क्षेत्रीलाई गाली गरेर सामाजिक सदभाव खलल पार्दै राष्ट्रिय झन्डा जलाउने अराजक तत्त्वलाई तुरून्त इन्काउन्टर गरियोस् ।’
फेसबुकमै दर्शन क्षेत्रीले लेखेका छन्, ‘बाहुन क्षेत्रीलाई गाली गरेको सहन सकुँला तर देशको झन्डा जलाएको किमार्थ स्वीकार्य छैन, तत्काल कारबाही होस् ।’