काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । अध्यक्ष चयन भएपछि आचार्यले आफ्ना केही योजनाहरु सार्वजनिक गरेका छन् ।
उनले भने, ‘जलविद्युत् सामूहिक लगानीबाट निर्माण गरेर निश्चित समयपछि सरकारलाई नै हस्तान्तरण गर्ने हुनाले यो अन्य उद्योगभन्दा फरक छ । यसको मूल्य पनि विद्युत् प्राधिकरणले निर्धारण गर्छ । अन्य उद्योगमा भएको लगानीभन्दा जलविद्युतमा गरिने धेरै ठूलो छ । यति हुँदा हुँदै पनि राज्यले यस क्षेत्रका उद्यमीलाई राज्य तथा समुदायको दृष्टिकोण उति गतिलो छैन । यस क्षेत्रका उद्यमीको प्रतिष्ठा आर्जन गर्नु पनि मेरो एउटा उद्देश्य हो ।’
जलविद्युत् क्षेत्रका कतिपय रुग्ण उद्योगलाई राज्यबाट सहयोग गर्ने बताउँदै उनले भने, ‘अर्को मुख्य कुरा, अहिलेसम्म उत्पादित विद्युत् सरकारले आफैं निर्यात गर्ने गर्छ । अब स्वतन्त्र उर्जा उत्पादकहरु निजी क्षेत्रबाटै विद्युत् निर्यात गर्नु छ ।’ यसका लागि इप्पान मातहत ‘विद्युत् व्यापार कम्पनी’ दर्ता भएको उनले बताए ।
उनका अनुसार निर्यातको अनुमतिका लागि सरकारसँग पहल भइरहेको छ । बंगलादेशसँगको ऊर्जामन्त्री, निजी उत्पादक कम्पनीहरुसँग निर्यातबारे छलफल भइसकेको पनि उनले बताएका छन् । भारतका विभिन्न निजी कम्पनीहरुसँग पनि छलफल भइरहेको छ । आफ्नो पालामा संस्थाको सचिवालय भवन निर्माण पनि प्राथमिकतामा राख्ने उनले बताए ।
संस्थाको उपाध्यक्षमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी चयन भएका छन् । संस्थाको महासचिवमा गोरे शेर्पा तथा सचिवमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् । आनन्द चौधरी कोषाध्यक्षमा चयन भएका छन् । संस्थाको सदस्यमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चयन हुँदा महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल चयन भएका छन् ।