काठमाडौं– गत असार सोह्रमा म भारतबाट नेपाल भित्रिएको थिएँ । झन्डै चार महिना त्यहाँ फसेपछि साविकको भाडादरभन्दा अचाक्ली महँगाे भाडा तिरेर, हातमा पन्जा, मास्क लगाएर, छिनछिनमा सेनिटाइजर घसेर पूर्ण सावधानीकासाथ प्राइभेट गाडीद्वारा दिल्ली हुँदै सुनौली आइपुगेँ । नाकामा सामान्य नियम पूरा गरेपछि सुनौलीबाट चितवनसम्म पनि उत्तिकै सावधानीपूर्वक आएँ ।
बीचमा वडाध्यक्षसँग नियमित कुरा भइरहेको थियो । घरबेटीसँग पनि । दुवैले ‘होम क्वारेन्टाइन’ बस्न दिने आश्वासन दिएका थिए । नेपालका क्वारेन्टाइन अविश्वसनीय, अस्तव्यस्त र ‘वधशाला’ बनिरहेका बेला मेरा लागि यो सुखद कुरा थियो । त्यही खुसीले सुनौलीबाट चितवन आइपुगेको पनि हेक्का रहेन ।
जब चितवन पुगेँ, घरबेटीलाई फोन गरेँ । उनले ’छिमेकीले हुन्न भनेका छन्’ भनिन् । सोचेँ– यो आफ्नै लागि पनि हो । ठीकै छ क्वारेन्टाइन बस्छु ।
त्यसपछि खैरहनी क्वारेन्टाइनमा बसेँ । पूराका पूरा सत्र दिन । पिसिआर नेगेटिभ आएपछि मुक्त बनेँ र घरमा आएँ । एकहप्ता कतै निस्किनँ ।
दोस्रो हप्तातिर एक जना मित्रकहाँ गएँ । उनको एउटा सानो बच्चा थियो । जब बच्चा लिन खोजेँ, आमाचाहिँले तर्काइरहनुभो । पछि मैले समात्नै खोजेपछि उहाँले मुखै फोरेर भन्नुभो, ‘तपाईं भर्खरभर्खर भारतबाट आउनुभाछ । अझै के हो के ? नरिसाउनुस्, तपाईंलाई भन्न सकेकी थिइनँ । तर बच्चा अहिल्यै नसमात्नू ।’
म छाँगाबाट खसेझैँ भएँ । एक, म सङ्क्रमित होइन । दुई, रिपोर्ट नेगेटिभ आएपछि निस्केको छु । त्यसको पनि दुई हप्तापछि म उनीकहाँ पुगेको छु । तर...
- म छाँगाबाट खसेझैँ भएँ । एक, म सङ्क्रमित होइन । दुई, रिपोर्ट नेगेटिभ आएपछि निस्केको छु । त्यसको पनि दुई हप्तापछि म उनीकहाँ पुगेको छु । तर...
केही बोलिनँ । कालोनिलो भएँ । आत्मसम्मानमा गहिरो चोटसमेत लाग्यो । बस्, मनले मान्छे चिनेँ । सोचिरहेछु, यदि म सङ्क्रमित नै भएको भए समाजको दुर्व्यवहारले मलाई आत्महत्या गर्नेसम्म बनाउँथ्यो ।
हाम्रो समाज यतिसम्म संकीर्ण छ । हाम्राहरूको सोच यति तुच्छ छ । तब त एउटा डक्टर सङ्क्रमित भएर घरमै ‘होम आइसोलेसन’मा बस्दा टोलवासीले ‘कोरोना सङ्क्रमितको घर’ भन्ने ब्यानर टाँसिदिन्छन् । यस्ताहरूबाट के आस गर्न सकिन्छ र !
(नेपाली पब्लिकको नियमित स्तम्भ सञ्जाल भित्तोका लागि मीनराज वसन्तको फेसबुक वालबाट)
