काठमाडौं– अनलाइन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ वाहक अंगोलाका ४८ वर्षीय सिल्भा एन्टोनी कोस्टालाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ र ९ सय अमेरिकी डलर भेटिएको छ । एटिएम कार्डहरू, पाउडरका बट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बन्डल, विभिन्न केमिकल, टेप, पेपर कटरलगायतका सामानसमेत प्रहरीले बरामद गरेको छ ।
घटना
कोस्टाले ‘मार्क हारुन’ का नामबाट पीडित युवतीसँग चिनजान गरे । उनीहरूबीच इन्स्टाग्रामबाट सम्बन्ध अघि बढ्यो । हारुनले पीडित युवतीलाई भने, ‘लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हुँ म । नेपाल आएर तिमीलाई विवाह गर्छु ।’
यसपछि नयाँ वर्षको अवसरमा हारुनले हीराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्डसमेत पठाएको बताए । तर उनले ती सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक पर्यो भनेर पीडित युवतीबाट पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिए । आफू ठगिएको थाहा पाएपछि युवतीले प्रहरीमा उजुरी दिइन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले हारुनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो । कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रारम्भिक अनुसन्धानपश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।