काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर जरुरी महत्त्वका तीन विषयमा प्रश्न गरेका छन् । देउवाले लिदी पहिरो, बढ्दो कोरोना संक्रमण दर र विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे प्रश्न गरेका हुन् ।
देउवाले भने, ‘सिन्धुपाल्चोकको लिदीका गाउँवासीले १० दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’
देउवाले कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा भएका कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन भनेर समेत प्रश्न गरेका छन् । उनले भने, ‘आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?’
त्यस्तै, देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति न्यूनीकरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीसँगको भेटघाट सभापतिसहित केन्द्रीय सदस्य रमेश लेखक सरिक रहेको जनाइएको छ ।
