काठमाडौं– नेपालमा कुल जनसंख्याको ८६ प्रतिशतमा विद्युत् सेवा पुगेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको ३५औं वार्षिकोत्सवमा प्रकाशित प्रतिवेदनअनुसार ८६ प्रतिशमा विद्युत् सेवा पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरणको ३५औं वार्षिकोत्सव 'जुम'मार्फत कार्यक्रम गरेर मनाइने भएको छ । कोभिड–१९ महामारीका कारण कार्यक्रम भव्य रूपमा नगरी जुममार्फत गर्ने तयारी भएको हो ।
प्राधिकरणले वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशकको वार्षिक प्रतिवदेन–२०७७ सार्वजनिक गरेको छ । प्रतिवेदनमा बर्सेनि उपभोक्ताको संख्या वृद्धि हुँदै गएको बताइएको छ । गत आवमा ३९ लाख १० हजार उपभोक्ता रहेकामा आव ०६७७/७७ सम्ममा ४२ लाख १८ हजार ग्राहक संख्या पुगेको छ ।
त्यस्तै, आव ०७६/७७ मा प्राधिकरणको खुद मुनाफा ११ अर्ब ५ करोड (करअघि) रहेको छ । जुन अघिल्लो आव ०७५/७६ को ९ अर्ब ८१ करोडको तुलनामा १२.६४ प्रतिशतले बढी रहेको छ ।