काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको छ ।
कृषिको माध्यमबाट जनताको आर्थिक स्तर सुधार गर्ने र प्रत्येक स्थानीय तहलाई नमूना बनाउने उद्देश्य सहित गण्डकी प्रदेश सरकारको सहयोगमा सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको हो ।
उक्त गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ऋषिङमा स्थापना गरिएको कृषि गाउँ साँच्चिकै नमुना बन्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले किसानलाई व्यावसायिक बन्न हौस्याएकाले मिहेनत गरेर नमुना बन्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपाका नेता मदन आलेले सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरेसँगै अब गाँउलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताएका थिए ।
प्रदेश सरकारको यो कामले गाँउका बासिन्दालाई सहयोग पुग्ने नेता आलेको भनाई थियो ।
यस्तै ऋषिङ गाउँपालिका–५ सपाङ्दी आसपासका १ सय परिवारलाई राहात वितरण गरिएको छ ।
कोरोना भाईरसले प्रभावित विपन्न परिवारलाई दैनिक उपभोग्य खाद्यन्नका सामग्री वितरण गरिएको हो । रासस