काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको प्रभावलाई न्यूनीकरण गर्ने योजना बनाएको बताएका छन् ।
बिहीबार वाग्मती प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक समीक्षामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले कोरोनाको प्रभावलाई न्यूनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रबिन्दुमा राखेर योजना सञ्चालन गर्ने बताए ।
भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा वाग्मती प्रदेशका सबै मन्त्रालय, प्रदेश लोकसेवा आयोग प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेशसभा सचिवालयलगायतको सहभागिता थियो ।
वाग्मती प्रदेशको आव २०७६/०७७ को विनियोजन ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ भएकोमा २७ अर्ब ९५ करोड ७१ लाख १७ हजार खर्च भएको थियो ।
यसमध्ये चालूतर्फ ६०.११ प्रतिशत र पूँजीगत खर्चतर्फ रु ५७.६८ प्रतिशत खर्च भएको थियो । रासस