काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकालको अन्त्य भएपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । उनले २६औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।
उनले नेपालको संविधान र प्रचलित कानुनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताए ।
प्रधानमन्त्री ओलीले यसपटक पर्व रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताए । उनले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गरेका छन् ।