काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय र केहि स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको छ । शनिवार दुई अध्यक्षबीच अर्ली महाधिवेशन गर्ने सहमति भएको भन्ने विषयमा छलफल भएको स्रोतले बताए ।
शनिबार अध्यक्षद्धयले मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको समाचार बाहिरीएको थियो । उक्त समाचार बाहिरीयपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम , प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका स्थायी कमिटी सदस्यहरु छलफलमा सहभागी भएका छन् ।
मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव प्रति नेकपाका सचिवालयका नेताहरु नै असन्तुष्ट रहेको एक स्थायी कमिटी सदस्यले बताए । नेपालले शनिवार नै मंसिरमा गर्ने भनिएको महाधिवेशनको प्रस्तावको आफुसंग कुनै छलफल नै नगरी ल्याएको भन्दै आफुनिकट नेताहरुसंग छलफल गरेको नेपाल निकट एक नेताले बताए ।
आज खुमलटारमा स्थायी कमिटी सदस्यहरु पनि छलफलमा सहभागी भएका थिए । जसमा भिव रावल,रघुजी पन्त,वर्षमान पुन,जनार्दन शर्मा,गोकर्ण विष्ट,मात्रिका यादव थिए । सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई छलफलमा बोलाएपनि सहभागी भने भएनन् ।
शनिबार सचिवालय बैठक सकिएपछि अध्यक्षद्धय राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए । त्यहाँ के छलफल भयो भन्नेबारेभने अहिलेसम्म केहि बाहिर आएको छैन ।