म्याग्दी– हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन्। जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गरेका थिए।
सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो। २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो। हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो।
अदालतको आदेशानुसार शेरपुजा रु दुई लाख ५० हजार धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताएका छन्। जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र रु ७० हजार जरिवानाको माग दाबी गरेको थियो।
शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बन्नुभएको थियो। स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गरेका शेरपुजा रघुगङ्गा पालिका कार्यसमितिको सचिवसमेत हुन्। फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ। रासस