पोखरा। कास्की–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या भट्टराईले आफ्नो राजनीतिलाई पारिवारिक विरासतसँग मात्र जोडेर नहेर्न आग्रह गरेकी छन्।
पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेतृ भट्टराईले आफू पारिवारिक जीवनबाट सामाजिक र राजनीतिक जीवनमा आइसकेकाले विरासतभन्दा पनि आफ्नो क्षमता हेरिनुपर्ने बताइन्।
उनले भनिन्, ‘रवीन्द्रको विरासत एउटा परिचय हो म त्यसलाई अस्वीकार गर्दिनँ। मलाई राजनीतिकर्मी, संसदको एउटा सदस्य मात्रै हो। जनताले विद्या भट्टराईलाई म्यान्डेट दिनुभएको छ। पारिवारिक विरासतको मेरो परिचय म गर्ब गरेर स्वीकार गर्छु। तर, राजनीतिक हिसाबले मेरो पहिचान त्योमात्रै होइन।’
अकल्पनीय घटनाले संसदीय यात्रामा आइपुगे पनि राजनीतिमा भने नयाँ नभएको उनको भनाइ छ। आफूले जनताको पक्षमा गरेका काम हेरेर पहिलो परिचय दिइनुपर्ने नेतृ भट्टराईले बताइन्।
‘मेरो जीवनसाथी गुमाइरहँदाको पीडासँगै संसदीय राजनीतिमा म आउने कुरा एउटा पक्ष रहन्छ। अबको मेरो पहिचान त्यो पहिलो बन्दैन भन्ने लाग्छ। मेरो पहिलो परिचय भनेको मेरो काम, मेरो व्यवहार र जनताको विश्वासलाई आँच पुर्याउने काम नगरेको आधारमा गरिनुपर्छ भन्ने ठान्छु,’ उनले भनिन्।
संसदमा आफ्नो क्षमताले भ्याएसम्म सशक्त भूमिका निर्वाह गर्ने भट्टराईको प्रतिबद्धता छ।
भट्टराई गत ४ मंसिरको चुनावमार्फत कास्की–२ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्। श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा कास्की २ बाट विजयी उनी पहिलोपटक संसद पुगेकी थिइन्।
यस्तै, कास्की–२ (१)का प्रदेश सांसद भिमबहादुर कार्कीले राष्ट्र हितमा र प्रदेशको विकासमा प्रेसको सहकार्य आवश्यक रहेको र प्रदेश प्रेस विधेयक जारी गर्ने बताए।
उनले सञ्चारकर्मीहरू र सरोकारवालाहरूसँग छलफल गरि आवश्यक प्रेस कानुन निर्माण गर्न पहल गर्ने बताए।