पोखरा । “लगानीको संवर्द्धन उद्योग व्यवसायको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आज देखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सञ्चार,कानून तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायीहरूले प्रविधि सँगै आफ्नो व्यवसाय अगाडी बढाउनुपर्ने बताए।
यस्तै मेलाको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवसायीहरुसगँ महानगर सधैँ सहकार्य गर्न र व्यवसायीका समस्याहरूको समाधानमा हातेमालो गर्न तयार रहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले लामो समय पछि सञ्चालन भएको व्यापार मेलाले व्यवसायीलाई रक्तसञ्चारको काम गर्ने र मेला अवधि भर व्यापारीहरूले नयाँ व्यापारको शैली पनि थाहा पाउने बताउँदै सहभागीहरूलाई धन्यवाद दिए ।
मेला मङ्सिर २५ गते सम्म सञ्चालन हुने छ । मेलामा विभिन्न हस्तकला अटो तथा व्यापारिक तथा सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत हुने महासचिव बलराम आचार्यले बताए ।
