काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीवारदेखि बिदा भएका छन् ।
देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरीलाई बिहीवार बिदा गरिएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् । निर्वाचन सुरक्षाका लागि सरकारले गत असोजमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो । सेवाको अवधिमा म्यादी प्रहरीले पाउने सेवासुविधा तथा पारिश्रमिक उनीहरूको बैंक खातामा जम्मा गरिदिने प्रहरीले जनाएको छ