काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरेका छन्।
३२ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको द्र्व्यवहारका घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ।“यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु। परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा भनिएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तरराष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ।
प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन्।