काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन्।
स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिए।
उनले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा महलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।
उनले भने, ‘तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउनसक्नुभयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन्। जनताको सरकारप्रतिको भरोसा र विश्वास पनि बढ्ने हुन्छ। अतः यस कुरालाई गम्भीरतासाथ मनन गरी तपाईंहरूले काम गर्ने अपेक्षा लिएको छु।’
उनले उपलब्ध साधनस्रोतको प्राथमिकीकरण गरेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।
जनताको मन जित्ने गरी, भ्रष्टाचार नगरी, विधिसम्मत् तरिकाले काम गरी बढीभन्दा बढी जनताको मत प्राप्त गरी आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा कांग्रेसलाई बहुमत दिलाउन प्रयासरत रहन उनले आग्रह गरे।
प्रधानमन्त्री देउवाले विभिन्न पाँच दलीय गठबन्धन गरेर नै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त भएको उल्लेख गरे।
आगामी आम निर्वाचनमा पनि गठबन्धनबाटै सफलता हासिल हुने विश्वास उनले व्यक्त गरे। यसका लागि छलफल सुरु गरिसकेको र चाँडै निष्कर्षमा पुगिने उनको भनाइ छ।
उनले उम्मेदवारी धेरै स्थानमा दिने भन्दा पनि धेरै स्थानमा विजयी हुने विषय पार्टीका लागि महत्वपूर्ण हुने बताए। साथै उनले न्यायपूर्वक टिकट वितरण हुनेमा आश्वस्त पार्दै जनता भन्दा ठूलो कोही नभएकाले जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे।
जनताको समर्थनका लागि पार्टीका सबै साथीहरुले जनताको दिल जितेर काम गर्नुपर्ने उनले बताए।