एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा आफु र प्रचण्डबीच एक गोप्य सहमति भएको भनेर एक अन्तर्वार्तामा खुलासा गरे ।
तर, उनले गोप्य सहमति के थियो भन्ने चाहिँ खुलाएका थिएनन् । उनले उक्त सहमति तत्कालीन नेकपा तथा हाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट सार्वजनिक होस् भन्न चाहेको बताएका थिए ।
प्रचण्डले ओलीसँग भएको उक्त गोप्य सहमति खुलासा गरेका छन् । एक सञ्चार माध्यमसँग अन्तर्वार्ता दिँदै प्रचण्डले ओलीले गोप्य भनेको सहमति खुलासा गरेका छन् ।
सहमतिअनुसार अध्यक्ष प्रचण्ड हुने बुझिएको छ । तर, ओलीले ‘तपाईं अध्यक्ष त हुने तर लाइन चाहिँ एमालेले लिएको लिनुपर्छ है’ भनेपछि प्रचण्डले उक्त गोप्य भनिएको सहमति एक घण्टामै च्यातिदिएको खुलासा गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘गोप्य भनेर उहाँले नै भन्नुभएको छ । केही कुरा उहाँले नै बाहिर पनि भन्नुभएको रहेछ । गोप्य भएको सहमति एकघण्टाभित्र मैले च्यातिदिएको हुँ । सहमति एउटा खालको बनाउन खोजिएको थियो नै ।’
त्यसबारे उनले अगाडि भनेका छन्, ‘तर ओलीले सहमति हुनेबित्तिकै ‘तपाईं अध्यक्ष त हुने तर लाइन चाहिँ एमालेले लिएको लिनुपर्छ है’ भनेपछि मैले पनि ‘ए ! तपाईंले त्यसको लागि सहमति गरेको हो भने यो सहमति सिद्धियो भनेर उत्तिखेरै मैले त्यहीँ भनेको हुँ’ । त्यतिमात्रै होइन त्यहीँ च्यातिदिएको हुँ ।’
उनले उक्त सहमतिको औचित्य नभएको र त्यसले ओलीको फट्याइँ पुष्टि गर्ने बताए । उनले थप भनेका छन्, ‘म एमालेको भएर अध्यक्ष हुने रे ! मैले योभन्दा ठूलो बेइमानी केही हुन सक्दैन भनेर हिँडेको हुँ ।’
उनले सहमति भएको तर सहमति भएपछि तत्कालै आफूले जालझेल देखेका कारण अस्वीकार गर्दै त्यो त्यतिबेला नै गोप्य सहमति च्यातिदिएको खुलाएका छन् । ‘एमालेकरण गराउने डिजाइन अन्तर्गत रहेछ भन्ने बुझेपछि मैले अस्वीकार गरेको हुँ’, प्रचण्डले भने ।