सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापतिको घोषणा गरिसकेका नेता प्रकाशमान सिंहले फस्र्ट म्यानको नेतृत्वमा रहेर पार्टीलाई सुदृढीकरण गर्ने दाबी गरेका छन् ।
शनिबारदेखि सुरु भएको काठमाडौं महानगरपालिका अधिवेशनको समुद्घाटन कार्यक्रममा सिंहले काँग्रेस पार्टीको विगत र वर्तमान अवस्थाको समिक्षा गर्दै पार्टी संगठनलाई मजबुत बनाउन आफूले केन्द्रीय सभापति पदमा दाबी गरेको बताए ।
काँग्रेसको पहिलो निर्वाचित महामन्त्रीको जिम्मेवार सम्हालिसकेका उनले पार्टीमा उपसभापति लगायत वर्किङ कमिटीदेखि नै आफूले योगदान गर्दै आएको विषयमा पनि पुनः प्रकाश पारे । ‘गणेशमान सिंहको परिवारले सधैं त्याग मात्रै गर्नुपर्ने हो ? म काठमाडौंको भएर वा मंगलादेवीको छोरा भएको भएर डिस्क्वालिफाइ हुन्छु ? पार्टीका वरिष्ठ नेताहरुले मलाई कििन्भनस गर्नुपर्यो, मेरो कमजोरी के हो ?’, सिंहले भने ।
काँग्रेसमा ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस मौलाएको तर नेपाली काँग्रेस खोज्नुपर्ने अवस्था आएकोप्रति उनले चिन्ता व्यक्त गरे । र्नुहुदै उनले नेतृत्वका लागि जिल्ला तहबाट दबाब आएको पनि बताए ।
‘शाही आयोग गठन गर्दा राजालाई पहिलो चुनौती दिने पनि मै हुँ । गणेशमान र मंगलादेवीको छोराले राम्रै गरेर गयो भन्ने बाहेक मेरो अरु इन्ट्रेस्ट् छैन’, सिंहको भनाई छ ।
काँग्रेसका ठूला एवम् वरिष्ठ नेताहरुप्रति ईगित गर्दै उनले भने, ‘माइ डियर दाजुहरु हुनुहुन्छ । उहाँहरुले कति जेल बस्नुभएको छ, दुख, संघर्ष गर्नुभएको छ, मूल्य र मान्यताको राजनीति गर्दा कति दुख पर्छ त्यो मैले पनि अनुभव गरेको छु।’
समग्रमा महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य बन्न होडबाजी गर्ने अनि निर्वाचित भइसकेपछि पार्टीको काम गर्नुनपर्ने प्रवृत्तिलाई रुपान्तरण गर्दै काँग्रेसले जनताको भरोसा जित्नसक्नुपर्ने सिंहले बताए ।