आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा आज नेपालले ओमानको सामना गर्दैछ ।
नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेदेखि सुरू हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल सोही लय कायम राख्न चाहन्छ । गएराति भएको सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दाकै लय बलियो ओमानबिरुद्ध नेपाल कायम राख्न चाहन्छ । ओमानसँग नेपाल विगतमा लगातार पराजित हुँदै आएको थियो । विश्व लिग–२ अन्तर्गत नेपालमा भएको सिरिजमा पनि ओमानविरुद्ध नेपाल दुवै खेलमा पराजित भएको थियो ।
ओमानविरुद्ध नेपाल बदला लिने सोचमा छ । तर, नेपाललाई जित्न त्यति सजिलो छैन । ओमान घरेलु मैदानमा खेलिरहेकाले पनि नेपाललाई थप चुनौती छ ।
लिग–२ मा १० खेलमध्ये ८ जित दर्ता गरेको ओमान शिर्ष स्थानमा रहेर विश्वकप छनोट पुग्न चाहन्छ ।