नयाँ बानेश्वरस्थित आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र नागरिक लगानी कोष (सीआईटी)विच सम्झौता भएको छ।
सम्झौतामा उल्लेख भएअनुसार डाइग्नोस्टिक सेवा लिएबापत आरोग्यले सीआईटीका कर्मचारी र विभिन्न योजनाका योगदानकर्ताहरुलाई छुट दिनेछ। यो सम्झौताको लाभ सीआईटीका कर्मचारीमात्र नभई उनीहरुको परिवार कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारले समेत लिन पाउनेछन्।
आरोग्यले कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दसैँतिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रासाउन्ड र ईसीजीमा २०/२० प्रतिशत, सामान्य शल्यकृयामा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एकपटक फुल बडी परीक्षणमा ५५/५५ प्रतिशत र मुख्य शल्यकृया गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी कोषका विभिन्न योजनाका योगदानकर्ता र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दसैँतिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रासाउन्ड र ईसीजीमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेसन गर्न साझेदार अस्पतालमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ।
आरोग्यका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. राजेश देव र सीआईटीका कार्यकारी निर्देशक रमण नेपालले बुधबार सम्झौतामा हस्ताक्षर गरेका हुन। हस्ताक्षर कार्यक्रममा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कायममुकाय नायब निर्देशक रोशनजंग कार्की, उपनिर्देशक अमृतबहादुर अधिकारीलगाउतको उपस्थिति थियो।