नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाका कारण बेलायतमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाएका छन्। यो जानकारी सन्दीपले मंगलबार फेसबुकमा एउटा पोस्ट लेख्दै दिएका हुन्।
सन्दीपले टिएर ५ भिसा पाएपनि आफूलाई प्रतियोगितामा समावेश नगराइएको बताएका छन्। ओभल इन्भिन्सिबल टिमसँग आबद्ध उनी आफ्नो टिमको लागि क्रिकेट खेल्न जुलाई ९ तारिखमा बेलायत पुगेका थिए।
‘कोभिड– १९ का कारण मेरो भिसा पक्रिया ढिलो भएको थियो। तर, मैले टिएर ५ भिसाको आवेदन दिँदा मलाई इसिबीका अधिकारीहरुले म ९ जुलाईभित्र बेलायत पुगेको खण्डमा मैले खेल्न पाउने बताएका थिए,’ सन्दीपले फेसबुकमा खेल गुमाउनु पर्दा आफू एकदमै दुखी भएको बताएका छन्, ‘तर, १८ जुलाई, मेरो क्वारेन्टाइन पुरा हुन दुई दिनअघि इसिबीले भिसाका कारण मैले खेल खेल्न नपाउने जानकारी दिएको छ।’
सन्दीपलाई बेलायतको क्रिकेट बोर्ड (इसिबी) ले उनको भिसा मान्य नभएकाले छिटोभन्दा छिटो बेलायत छाड्न पनि निर्देशन दिएको छ। सन्दीपले आफूले सबै कुरा इसिबीले भने बमोजिम नै गरे पनि इसिबीले आफूलाई देश छाड्न भनेकोमा दुःख व्यक्त गरेका छन्।
‘मैले के कारणले मेरो भिसा मान्य भएन भनेर इसिबीका अधिकारीलाई प्रश्न गरेँ,’ उनले लेखेका छन्, ‘तर, मैले कसैबाट पनि मेरो प्रश्नको चित्त बुझ्दो उत्तर पाउन सकिनँ। के कारणले मेरो भिसा मान्य भएन? यसको कारण थाहा पाउने मेरो अधिकार छ।’
उनले आगामी दिनमा अन्य खेलाडीले आफ्नो जस्तो नियति भोग्नु नपरोस् भनेर कामना गरेका छन्। त्यसका लागि उनले इसिबी गम्भीर हुनुपर्ने पनि बताएका छन्।