काठमडौँ । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा जस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको आरोप लगाएका छन्।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्मा पटक–पटक सडक दुर्घटनाका कारण हुने मृत्युका विषय उठे पनि मन्त्रालयले आवश्यक चासो नदिएको बताए। सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर लापरबाही भएको उनको भनाइ थियो। उनले भने, संसद्को आकस्मिक बैठकमा बारम्बार सडक दुर्घटनाबाट हुने मृत्युको विषय उठिरहेको छ। यस्तो संवेदनशील विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो। सडक सुरक्षा विधेयक बनेको पाँच वर्षभन्दा बढी भइसक्दा पनि संसद्मा पेस हुन सकेको छैन। यातायात मन्त्रालयको भूमिका र जिम्मेवारीबारे उठिरहेका प्रश्नहरूलाई पनि उनले गम्भीर रूपमा लिनुपर्ने बताए।
हवाई, रेल, जल र सडक यातायातलाई समेटेर एकीकृत विकास प्रणाली अघि सारिएको भए पनि त्यसको कार्यान्वयनमा कमजोरी देखिएको उनको टिप्पणी थियो। उनले थपे, पूर्वाधार विकास मन्त्रालय भनेर यातायात मन्त्रालयलाई पनि भनिन्छ। हाम्रो नीति कार्यक्रममा हवाई, रेल, जल र सडकलाई एकीकृत विकास गर्ने भनिएको छ। तर त्यसका लागि मन्त्रालय प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। तीन खर्ब रुपैयाँभन्दा बढी बजेट भएको मन्त्रालयले अपेक्षित रूपमा काम गर्न नसकेको उनको आरोप थियो। उनले मन्त्रालयको ध्यान ठेक्का–पट्टामा मात्र केन्द्रित भएको भन्दै यातायात व्यवस्थापन कमजोर बनेको टिप्पणी गरे। सभापति गजुरेलले वर्तमान पुस्ता मात्र होइन, भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षा र यातायात व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।