धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। हालै सम्पन्न सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत भएको मतदानबाट विष्ट भारी मतका साथ नयाँ सभापतिमा चुनिएका हुन्।
निर्वाचन समितिका अनुसार नयाँ कमान्डर चयनका लागि भएको मतदानमा कुल ५१३ मत खसेको थियो। जसमा विजयी विष्टले ३५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जनक पन्तले १५४ मत मात्रै प्राप्त गरे। खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन टोलीले जनाएको छ।
प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले देशैभर आफ्ना प्रादेशिक र जिल्ला समितिहरूलाई नयाँ नेतृत्व दिने क्रम तीव्र पारेको छ। सुदूरपश्चिममा स्पष्ट बहुमतका साथ विजयी भएसँगै नवर्निवाचित सभापति विष्टलाई प्रदेशमा पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्ने मुख्य जिम्मेवारी आइपरेको छ।