काठमाडौं – भारतिय सेनाका प्रमुख नेपाल आउन लागेका कारण बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडानहरु अस्तव्यस्त बनेका छन् । लिम्पियाधुरा, लिपुलेक सम्बन्धमा नेपालविरोधी अभिव्यक्ति दिएर बिवादित बनेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न नेपाल आउन लागेका हुन् । उनी भारतीय सेनाको विशेष विमानमार्फत् मगंलबार अपरान्ह चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् ।
उनको आगमन हुने भएपछि विमानस्थल व्यवस्थापनलाई उडान तालिका मिलाउन धौ–धौ भएको छ । बिहानैदेखी विमानस्थलबाट स्थानिय उडानहरु नियमित हुन सकेका छैनन् । विमानस्थलमा कार्यरत नेपाल प्रहरीका एक प्रहरी उपरिक्षकले भने, ‘आज दिनभर जसो नै उडानहरु डिस्टर्ब होला जस्तो छ ।’’
भारतिय सेनाध्यक्षले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ । साेही दिन नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उनकाे भेटघाट हुनेछ ।
शुक्रबार भारत फर्किनुअघि उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जानकारी दिएको छ ।सेनाध्यक्षा नरवणेको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । ‘भारतिय सेनाध्यक्ष नेपाल आउन लागेका कारण विमानस्थलको सुरक्षा व्यवस्था थप सतर्क बनाइएको छ’, विमानस्थलमा कार्यरत प्रहरी उपरिक्षकले भने ।
नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।