काठमाडौं– यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई आज नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै क्लिन फिड लागू गर्न सरकारले गरेको प्रभावकारी पहललाई धन्यवाद दिई इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई समेत नियमन गर्न आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष धुव्र शर्माका अनुसार आफूहरुको मागअनुसार नै मन्त्री गुरुङले क्लिनफिडसँगै अन्य प्रविधिमा आधारित प्रसारणका सन्दर्भमा आवश्यक प्रक्रिया मिलाउनका लागि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई निर्देशन दिए। । ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६’ अनुसार यही कात्तिक ७ गतेदेखि नेपालभित्र प्रसारण हुने टेलिभिजनमा विदेशी विज्ञापनसमेत प्रसारण गर्न पाइनेछैन । सोही ऐनअनुसार क्लिनफिड वा विज्ञानपनरहित प्रसारण गर्नुपर्नेछ ।
महासङ्घले आज मन्त्री गुरुङलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रसारण अनुमति नलिएका विदेशी च्यानल र भिडियो तथा सेन्सर नभएका वा भएका चलचित्र सहजै प्रसारण हुने र प्रयोगकर्ताले हेर्न सक्ने भएकाले इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई नियमन गर्न माग गरेको हो ।
आइपी टिभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आइपिटिभी बक्समा सहजै अनधिकृत टिभी तथा श्रव्य दृश्य सामग्रीसमेत उपलब्ध हुने जनाउँदै महासङ्घले डाउनलिंक अनुमति लिएका भन्दाबाहेकका अन्य सामग्रीको प्रसारण गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।