काठमाडौं– दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार गर्छन् ।
चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको हो । निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको बरालको भनाइ छ ।
मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने बरालले बताए । गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उनले भने, ‘जसले अतिक्रमण ग¥यो उनीहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रित हुनुपर्दा संरक्षणमा चुनौती थपिएको छ ।’
उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सहयोग पुग्ने बरालको भनाइ छ । राजनीतिकरुपमा प्रतिबद्धता बोलीमा भए पनि व्यवहारमा नहुँदा संरक्षणमा थप जटिलता आएको हो । जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको बरालको भनाई छ । जसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता आएको बरालको ठम्याइ छ ।
राजनीतिक नेतृत्व र जनप्रतिनिधिलाई संरक्षणप्रति उत्तरदायी बनाउन सके संरक्षणमा सहयोग पुग्ने बरालले बताए । लामो समय गैँडा संरक्षणमा खर्चिनुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर विगतको इतिहासलाई हेर्दा प्रत्येक १०÷१० वर्षमा चोरी शिकारी बढ्ने गरेको तथ्याङ्कले देखाएको बताए ।
सन् १९७० देखि ८० को दशक चोरी शिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी शिकार बढी भएको बरालले जानकारी दिए । त्यसैगरी ८० को दशकमा चोरी शिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै बरालले सन् २०२० को दशक चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत गराएा छन् ।
तस्करले निकुञ्ज सुरक्षा व्यवस्थाको रणनीतिका बारेमा थाहा पाइसकेकाले नयाँ रणनीतिका साथ आउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । सरकारी निकाय सुस्ताउँदै गर्दा तस्कर सक्रिय हुने गरेको तथ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उहाँको भनाइ छ ।