काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संर्घषबाट प्राप्त गरेको लोकतान्त्रिक, समावेशी र समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न नउनले सबैलाई आग्रह गरेका हुन् । संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गरेका छन् ।
“सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप हामीले सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौँ”, उनले सन्देशमा भनेका छन्, “यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभुत अधिकार सुनिश्चित गरेका छौ ।”
संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरिता कायम भएको उनले उल्लेख गरेका छन् । “मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामी समाजवाद तिर अघि बढ्न कृत संकल्पित छौँ”, पूर्वप्रधानमन्त्री खनालले सन्देशमा भनेका छन्, “यी सबै संविधान निर्माण पश्चात हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।” रासस