सप्तरी– सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।
हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेब कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् भने शंकास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई आइसोलेसन र होम क्वारेन्टिनमा राख्नुपरेपछि अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँचलगायतका काममा रोक लगाउने निर्णय गरिएको ।
स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो । आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको संक्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।