काठमाडौं– तत्कालै विगतमा जस्तो देशैभरि लकडाउन नहुने भएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीले डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै तत्काल लकडाउन नहुने बताएका छन् ।
खतिवडाले भने, ‘तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन हुँदैन । सरकारले त्यसबारेमा केही सोचेको छैन । तर अवस्था हेरेर आवश्यक निर्णय हुन्छ ।’
कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उनको भनाइ छ । स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले जानकारी दिए ।
मन्त्री डा. खतिवडाले संक्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र संक्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताए । उनले अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने जनाए ।