काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले नोट अफ डिफेन्स लेखेको सन्दर्भ कोट्याउँदै अध्यक्ष केपी ओलीले ‘नोट अफ डिफेन्स’ लेख्न किन नहुने भन्दै प्रश्न गरेका छन् ।
नेपालले भने, ‘मैले पार्टी एकता भएपछि बहुमतले गरेको निर्णय चित्त नबुझ्दा नोट अफ डिसेन्ट लेख्न हुने, ओलीले लेख्न किन नहुने ?’ उनले एकतापछि धेरै निर्णय बहुमतका आधारमा भएको दाबी गरे ।
उनले पार्टी विधानमै सहमति नभए बहुमतका आधारमा निर्णय हुने लेखेकाले अहिले ओलीको सहमतिको कुरा विधानविपरीत भएको बताए । उनले भने, ‘विधानको धारा ६० मा स्पष्ट रूपमा सहमतिमा निर्णय हुन नसके बहुमतका आधारमा निर्णय हुने व्यवस्था छ । यही आधारमा अब पार्टी अगाडि बढ्छ । निर्णयमा असहमति भए फरक मत राख्नुपर्छ ।’
नेपालले ओलीबाट आफूखुसी नियुक्ति दिएको भन्दै आक्रोशसमेत पोखेका छन् । उनले भने, ‘बिचौलियालाई नियुक्ति र गुटका व्यक्तिलाई मात्र पद दिने काम भएको छ । नेताहरुलाई उनको निर्देशनमा हिलो छ्याप्ने काम भएको छ ।’
त्यस्तै, झलनाथ खनालले सरकार पुँजीवादी बाटोमा हिँडेको आरोप लगाए । खनालले गुट चलाउनमा रमाउने प्रवृत्तिका ओलीले अहिले पनि विगतमा जस्तै गरेको आरोप लगाए । उनले भने, ‘ओली पार्टी बनाउनेभन्दा गुट बनाउने मानिस हुन् । अहिले पनि त्यस्तै गर्दै छन् । यसकारण पार्टी र उनको गुटबीच अन्तर्विरोध बढेको छ ।’
ओलीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यलाई सडकछाप भनेको बताउँदै खनालले भने, ‘कम्युनिस्ट पार्टीको अध्यक्ष नै स्थायी कमिटीका सदस्यलाई हुल्लडबाज र केन्द्रीय कमिटीका सदस्यलाई सडकछाप भन्छन्, यो उनको राजनीतिक दिशाहीनता हो ।’
कार्यक्रमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त, पम्फा भुसाल, केन्द्रीय सदस्य ओम शर्मा, महेश्वर दाहाल र विष्णु रिजाल उपस्थित थिए ।