घोराही– दाङको घोराही उपमहानगरपालिका– १ तेर्छे गाउँमा बँदेल र बाँदरले अन्नबाली खाएपछि स्थानीयवासीले सयौँ हेक्टर जमीनमा खेती गर्न छाडे। मकै, कोदो, फापर, तोरी, जौ, गहुँलगायत बाली वन्यजन्तुले स्याहार्नै नदिएपछि स्थानीयवासीले वर्षदेखि जग्गा बाँझै छाडेका थिए। यस वर्षदेखि भने उनीहरुले वैकल्पिक खेतीका रुपमा अदुवा, पिँडालु र बेसार खेती शुरु गरेका छन्।
स्थानीयवासी टेकन भण्डारीले गाउँलेले खेती गर्न छाडेका करीब पाँच बिघा जग्गामा यस वर्ष बेसार, पिँडालु र अदुवा खेती शुरु गरेको जानकारी दिएका छन्। ‘यस वर्ष पाँच बिघामा खेती गरेका छौँ’, भण्डारीले भने, ‘आगामी वर्षमा हामी गाउँमा कुनै पनि जमीन बाँझो राख्दैनौँ, सबै जग्गाामा खेती गर्छौँ।’ यस वर्ष भण्डारीले उक्त स्थानमा छ क्विन्टल बेसार रोपिसकेका छन्। तेर्छे गाउँमा व्यावसायिक अदुवा, बेसार र पिँडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताएका छन्।
विश्वभर कोरोना महामारीको त्रास शुरु भएलगत्तै उनी भारतबाट घर फर्किएका थिए। मेहनत गरियो भने भारतमा कमाएजति यहीँ कमाउन सकिने उनको विश्वास छ। उनी जस्तै स्थानीयवासी वसन्त भण्डारी पनि वन्यजन्तुले नोक्सान गर्न नसक्ने सिस्नो खेती गरी धुलो उत्पादन गर्ने योजनामा छन्। बजार क्षेत्रबाट सिस्नोको माग धेरै भएको हँुदा धुलो बनाउन शुुरु गरिएको उनले बताएका छन्।
तेर्छे गाउँमा उत्पादित जैविक अदुवा, बेसार, पिँडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराहीस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ। सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजारमार्फत उपभोक्तालाई दिने ती वस्तु योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको उत्पादन लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरेको अध्यक्ष पौडेलको भनाइ छ। यस्तै प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बंगलाचुुलीका विभिन्न गाउँमा अदुवा, बेसार र पिँडालु खेती शुरु गरिएको छ। ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टीका बस्नेतका अनुसार अहिले बंगलाचुली –२ मर्पेसमा २८ क्विन्टल पिँडालु वितरण गरिसकिएको छ भने १६ क्विन्टल अदुवा किसानले रोपिसकेका छन्।
बीउसँगै मर्पेसका २० घरपरिवारलाई प्राङ्गारिक मल र आवश्यक औषधि पनि दिइने छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रले पनि घोराही उपमहानगरपालिका –१९ को पहाडी भेगलाई गत वर्षदेखि अदुवाको पकेट क्षेत्र मानेको छ। यस्तै वडा नम्बर १२ को सिस्नेरीमा बेसार पकेट क्षेत्र र दंगिशरण गाउँपालिकाको फूलबारीमा ब्लक सञ्चालन गरिएको छ। केन्द्रले पकेट सञ्चालन गरेका क्षेत्रमा रु १४ लाख र ब्लग सञ्चालन भएका क्षेत्रमा रु ४० लाखका दरले अनुदान दिइएको ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जानकारी दिएका छन्। रासस