एजेन्सी– उत्तर कोरिया बाहिरी विश्वबाट एक्लिँदै आएको मुलुक हो। उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघ तथा अमेरिकासहितका मुलुकले नाकाबन्दी लगाएका कारण विश्व समुदायबाट उत्तर कोरिया एक्लिँदै आएको छ।
बाहिरी विश्वबाट एक्लिएका कारण उत्तर कोरियाबारे धेरै जानकारीहरु उपलब्ध छैनन्। सोही कारण उत्तर कोरिया एकदमै रहस्यमयी मुलुकका रुपमा समेत चिनिन्छ। उत्तर कोरियाबारे १० रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ।
१. जुचे व्यवस्था
उत्तर कोरियामा माक्र्सवादी लेनिनवादी दर्शनमा आधारित मौलिक कोरियाली जुचे शैलीको शासन व्यवस्था छ। जुचे व्यवस्थालाई उत्तर कोरियाले आर्थिक, राजनीतिक तथा सामाजिक रुपमा स्वाबलम्बी किसिमको शासन व्यवस्था रहेको हो। उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको दर्शनमा आधारित यो व्यवस्था मूलधारको माक्र्सवादी लेनिनवादी कोरियाली मौलिकता तथा विश्वबाट एक्लिने किसिमको प्रणालीमा आधारित छ। आलोचकहरुले यो शसन शैलीलाई तानाशाही र अधिनायकवादी भन्दै आलोचना गर्ने गरेका छन्।
२. मृत्युदण्ड
उत्तर कोरियामा सामान्य अपराधमा समेत मृत्युदण्ड दिइने गरिएको छ। त्यहाँ दक्षिण कोरियाली वा विदेशी टेलिभिजन तथा चलचित्र हेरेको, सरकारविरुद्ध अभिव्यक्ति दिएको वा अन्य सामान्य अपराधका लागि समेत मृत्युदण्ड दिइने गरेको छ। उत्तर कोरियामा हरेक वर्ष हजारौंको संख्यामा मृत्युदण्ड दिइने विभिन्न प्रतिवेदनले जनाउने गरेका छन्। मृत्युदण्ड सार्वजनिक स्थानमा धेरै मानिसहरुको उपस्थिती रहेको बेला दिइने गरिएको छ । केही वर्षअघिमात्र सत्तारुढ पार्टीको बैठकमा सुतिरहेका बेला भेटिएका एक उच्च पदस्थ अधिकारीलाई पनि मृत्युदण्ड दिइएको थियो।
३. ३ पुस्ते सजाय
उत्तर कोरियामा ३ पुस्ते सजायको व्यवस्था छ। यसअनुसार कसैले केही अपराध गरेको खण्डमा अपराधीका सम्पूर्ण परिवारलाई पुनर्शिक्षा वा श्रम शिविरमा राखिन्छ । त्यतिमात्र नभई उक्त परिवारको अर्को दुई पुस्ताले पनि शिविरमै जीवनभर बन्दी बन्नुपर्ने प्रावधान छ। मानवअधिकारवादी संस्थाहरुले उत्तर कोरियाको यस्तो व्यवस्थाको चर्को आलोचना गर्ने गरेका छन्।
४. १५ किसिमका हेयरस्टाइल
उत्तर कोरियामा जसले जस्तो चाह्यो उस्तै हिसाबमा कपाल काट्न पाइन्न। त्यहाँका नागरिकलाई कपाल काट्न विभिन्न १५ स्टाइलहरु छुट्याइएका छन्। उत्तर कोरियाली नागरिकले उनै १५ किसिमका हेयरस्टाइलमध्ये एक छानेर कपाल काट्नुपर्छ। तैपनि सर्वोच्च नेता किम जोङ उनको हेयरस्टाइलमा भने कसैले कपाल काट्न पाउँदैनन्।
५. जुचे क्यालेण्डर
उत्तर कोरियामा बेग्लै किसिमको पात्रो छ। उत्तर कोरियाली सर्वोच्च नेता किम इल सुङको जन्म भएको वर्ष १९१२ लाई आधार बनाएर पात्रो बनाइएको हो। यसअनुसार बाँकी विश्वमा सन् २०१९ हुँदा उत्तर कोरियामा जुचे संवत् १०७ मात्र हुन्छ।
६. टेलिभिजन
उत्तर कोरियामा केबल ३ टेलिभिजन च्यानलहरुमात्र छन्। र, हरेक टेलिभिजनले त्यहाँको प्रोपागाण्डा मात्र प्रसारण गर्ने गरेका छन्। बाहिरी विश्वका टेलिभिजन हेर्न उत्तर कोरियामा प्रतिबन्ध छ। तैपनि दक्षिण कोरियाबाट तस्करी गरी ल्याइएका चलचित्रहरु उत्तर कोरियामा निकै लोकप्रिय मानिन्छ। तर, यस्ता चलचित्र हेर्नु गैर कानूनी हुने भएकाले यस्ता चलचित्र हेर्नेलाई मृत्युदण्ड समेत दिने गरिन्छ।
७. सेना
उत्तर कोरिया विश्वको सबैभन्दा धेरै सैनिक भएको मुलुकमध्येमा पर्छ। यहाँ १२ लाख भन्दा धेरै सैनिक छन्। आफ्नो सार्वभौमिकताको रक्षाका लागि भन्दै उत्तर कोरियाले ठूलो स्तरमा सेना निर्माण गरेको हो। यहाँको सेनामा पुरुषका साथै महिलाको उपस्थिती पनि बाक्लो छ। यद्यपि उत्तर कोरियाली सेना मुलुक भन्दा पनि त्यहाँको सत्तारुढ कोरियन वर्कर्स पार्टीप्रति वफादार मानिन्छ।
८. पर्यटक
उत्तर कोरियामा हरेक वर्ष ५ हजारको हाराहारीमा पश्चिमा मुलुकबाट पर्यटक आउने गरेका छन्। चौतफी नाकाबन्दीको सामना गरिरहेको उत्तर कोरियाका लागि पर्यटन आयको राम्रो श्रोतको रुपमा रहेको छ। त्यसबाहेक चीन र रुसबाट पनि हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटक आउँछन्। हालै उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिक अटो वर्म्बियरको निधन भएपछि भने त्यहाँ पश्चिमा मुलुकका पर्यटकको आवागमनमा कमी आएको छ।
९. मल
गरिबी र भोकमरीका कारण उत्तर कोरियाको कृषि तथा आर्थिक क्षेत्र निकै कमजोर रहेको छ। सोही कारण उत्तर कोरियामा मानिसको दिसालाई कृषि मलको रुपमा प्रयोग गरिँदै आइएको छ। सोही कारण उत्तर कोरियामा मानिसको दिसाबाट लाग्ने संक्रमक रोग पनि धेरै छ।
१०. कपडा
उत्तर कोरियामा ढुङ्गाबाट बनाइएको कपडा प्रचलित छ। विशेष किसिमको चुनढुङ्गालाई प्रशोधन गरी प्राप्त भएको भिनल्योन नामक रसायनबाट यस्तो किसिमको कपडा उत्पादन हुने गरेको हो। यी कपडालाई जुचे फ्याब्रिक नाम दिइएको छ। त्यस्तै, उत्तर कोरियामा जिन्स कपडा लगाउन प्रतिबन्ध छ। उत्तर कोरियाले भन्ने गरेको साम्राज्यवादी मुलुकको पहिचानको रुपमा रहेकाले त्यहाँ जिन्स कपडा लगाउन वर्जित रहेको हो ।