काठमाडौं– लाईभ दोहोरी गाएर सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ। ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन्। त्यही भएर मिडिया, अझ खासगरी युयुव च्यानलहरुको रोजाइमा उनी पर्ने गरेकी छन्। तर, अन्तरवार्ताका नाममा घुमाउरो प्रश्न गर्ने र आफूलाई चाहिएको भाषाशैलीमा बोल्न बाध्य परिस्थिति खडा गरेर सामाजिक मर्यादा र परिवारका सदस्यहरुको आत्मसम्मानमा चोट पुग्न थालेको स्वयम् कमला बताउँछिन्।
आफ्नो कलामार्फत छोटो समयमा ख्याति आर्जन गरेकी कमला दैनिकजसो दुई–चारवटा युट्युव च्यानललाई अन्तरवार्ता दिन बाध्य हुन्छिन्। पछिल्लो समय उनको अन्तर्वार्ता लिन युट्युबरहरुको धुइरो लाग्न थालेपछि बुबाले जथाभावी अन्तरवार्ता नदिन सुझाव दिए। हुन पनि उनलाई युट्युबरहरुले दिनरात, बिहान–बेलुका नभनी पछ्याउँछन्। जसका कारण उनले न राम्रोसँग पढ्न पाएकी छन्, न त खान नै। यसकारण घरमा युट्युबरहरुलाई रोक लगाउनु परेको उनका बाबु कल्याणप्रसाद घिमिरेको भनाइ छ।
धादिङ साङकोशकी कमलाको घरमा जान नपाएपछि युट्युबरहरु उनी अध्ययनरत विद्यालयमै पुगेर अन्तरवार्ता लिन थालेका छन्। जति छोटो समयमा उनी भाइरल भइन्, त्यति नै छोटो समयमा उनी आफ्नो अन्तरवार्तालाई रोचक तथा विवादास्पद खालका शीर्षक राखेर युट्युब च्यानलमार्फत सार्वजनिक गरेर बढीभन्दा बढी रकम आर्जन गर्ने ‘युट्युबे’ प्रवृत्तिबाट हैरान भएकी छन्। अहिले युट्युबरहरुमा स्कुलमै पुगेर उनको कक्षा छुटाएर ‘कर गरेरै’ अन्तरवार्ता लिने होड चलेको छ।
कमलाका बुबा कल्याण युट्युबरको यो प्रवृत्ति देखेर दिक्दार भएका छन्। त्यसैले पनि उनले युट्युबरविरुद्ध उजुरी दिने चेतावनी नै दिएका छन्। उनले आफ्नो छोरी कमलालाई अन्तरवार्ताका लागि दुःख दिने तथा आफू र आफ्नो परिवारका बारेमा नकारात्मक सामग्री प्रसारण गरेर भ्रम फैलाउने सबैका विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिने मनस्थिति बनाएको बताए। ‘जबर्जस्ती अन्तरवार्ता लिने र असान्दर्भिक प्रश्न सोध्नेविरुद्ध उजुरी हाल्दैछु’, कल्याणले कुरा गर्दै भने ‘मिडिया हुँ भन्दैमा अरूको इच्छा विपरीत जथाभावी गर्न पाइन्छ र?’
आफ्नो र छोरीको समाचार बङ्ग्याएर युट्युबहरु पैसा कमाउने धन्दामा लागेको उनको आरोप छ। यता मनोविद् गोपाल ढकाल सामाजिक सञ्जाल मार्फत बालबालिका भाइरल हुँदा मानसिक र शारीरिक दुबै कुरामा समस्या हुने बताउँछन्। ‘संसारका सबै बालबालिका क्षमतावान हुन्छन् तर कसैको छिट्टै प्रतिभा प्रष्फुटन हुन्छ त कसैको ढिलोगरी हुन्छ’, उनले भने, ‘तर बालबालिकाको खेल्ने, अध्ययन गर्नेजस्ता प्राकृतिक रुपमा सामान्य जीवन जिउँनु पर्ने समयमा चर्चामा आउँदा तनाव धेरै हुने र पछि मानसिक समस्या पनि हुनसक्छ।’
बालबालिकालाई चर्चामा ल्याउँनको लागि परिवारलनै जवरजस्ती सामाजिक संजालमा राखिनेदिने काम पनि हुने गरेको उल्लेख गर्दै उनले यसबाट व्यक्तिको बाल अधिकार पनि हनन् हुने बताए। ‘चर्चामा आउँदा आफ्नो सामान्य दैनिक जीवन छोड्नु पर्छ। धेरै मान्छेको भीडमा जानु पर्छ, जसले गर्दा अध्ययनमा समस्या हुन्छ। चर्चा केही समयसम्म होला तर अध्ययन जीवनको महत्वपूर्ण पाटो हो। कमला घिमिरे जस्ता चर्चामा आएका बालबालिकाले अध्ययनकै बेला गीत गाउँन हिँड्नु भन्दा पनि अहिले अध्ययनलाई महत्त्व दिनुपर्छ’ ढकालले भने।
यद्यपि प्रतिभालाई कुनै पनि हालतमा मार्न नहुने तर त्यो स्वाभाविक रुपमा प्रस्फुटिन हुनुपर्ने उनको भनाइ छ। मनोविद् ढकालले भनेजस्तै अहिले कमलामा प्रतिभा त छ त्यसलाई सही रुपमा प्रयोग भएको पाइँदैन। उनलाई अहिले लहड र अनावश्यक रुपमा भाइरल पात्रको रुपमा परिचित गराइएको छ। कमलाका बाबु कल्याण पनि छोरीलाई अनावश्यक डिस्टर्ब गर्ने काम भएको बताउँछन्।
‘मेरो अनुमतिबिना स्कुलमा गएर छोरीको अन्तरवार्ता लिएर उसलाई रुवाउने, अध्ययनमा समेत डिस्टर्ब गर्ने धेरै छन्, उनले जंगिँदै भने, ‘ती सबैको रेकर्ड एकएक उतारेको छु। तह लगाएर छोड्छु।’ कल्याणले युट्युबमा कमला र आफ्नो बारेमा बङ्ग्याएर हालिएको अन्तरवार्ता, समाचार हटाएर त्यस्तो समाचार र भिडियो बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिए।