काठमाडौं– नेपालको हिमाली क्षेत्रमा पाइने पदमचाल, आयुर्वेदमा यसलाई निकै महत्व मानिन्छ। यो एक किसिमको जडीबुटी हो। पदमचालका विरुवाहरु आफै उम्रिन्छन्। नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेगमा पाइन्छ।
यसको व्यवसायिक खेती भने अहिले सम्म भएको पाइँदैन। स्थानीयहरुले यसलाई विभिन्न दवाईका रुपमा प्रयोग गर्दै आएका हुन्छन्। यसलाई अचारका रुपमा पनि खाने गरिन्छ। अमिलो हुने यो विरुवाको बोटसँगै जरामा धेरै औषधिय गुण हुन्छ। पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले जरा किनेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेको पाइएको छ।
पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। यसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ। यसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ।
पदमचालको सुगन्धित वास्ना पनि आउँछ। यसको फूलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने गर्छ।
यसकाे प्रयोगः
यसको डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा र्पुयाउँछ। कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ। शरीरमा जलन भएमा यसको रस बनाएर पिउँदा शरीरलाई शितलता प्रदान गर्छ।
त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाई अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ।