तस्वीरः अनलाइन खबर
काठमाडौं–चलचित्रको रिलिज मिति तोकिसकेपछि चाहे भन्दा बढी चर्चा हुन थाल्छ। भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘च च हुई’ को व्यापारलाई लिएर सिंगो चलचित्र क्षेत्र नै आँखा दौडाइरहेको छ। कारण, करिब एक महिनादेखि हलमा दर्शकको उपस्थिति न्यून हुनु, तिहारपछि रिलिज भएका चलचित्रले गतिलो व्यापार नगर्नु आदि छन्। यसमा पनि नायक आर्यन सिग्देलको चलचित्रले दर्शकलाई हलसम्म कती तान्ला भन्ने अनुमान पनि लगाउन थालिएको छ।
साम्तेन भुटिया निर्दे्शित यो चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगरको मुख्य भूमिका छ। चलचित्रले मल्टिप्लेक्स हलमा औसत शो पाएको छ। चलचित्रले पाएको शोलाई उत्साहजनक भन्न मिल्दैन।
देशकै सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले काठमाण्डौमा यो चलचित्रलाई २ शोज मात्र दिएको छ। भक्तपुरमा २ शो र ललितपुरमा १ शो दिइएको छ। चलचित्रले उपत्यकामा जम्मा ५ शो पाएको छ। चलचित्रले राम्रो कमाई गर्नका लागि वर्थ अफ माउथ नै बलियो हुनुपर्ने देखिएको छ।
हलिउड र बलिउड चलचित्रका कारण यो चलचित्रको शोज बाँडफाँडमा असर परेको देखिएको छ । बलिउडमा समेत खासै चर्चा नभएको ‘पागलपन्थी’ नामक चलचित्रलाई क्यूएफएक्सले सर्वा्धिक शोज उपलब्ध गराएको छ।