काठमाडौं–फिल्म साउथ एसिया २०१९ का भर्खर मात्र सम्पन्न भएको छ। उक्त पुरस्कार ‘रामबहादुर ट्रफी फर वेस्ट डकुमेन्ट्री अवार्ड’ बंगलादेशी निर्देशक शाहिन दिल रियाज निर्दे्शित ‘ब्याम्बु स्टोरिज’ लाई प्रदान गरिएको छ।
गत बिहीबारदेखि पाटनमा जारी महोत्सवको अन्तिम दिन आइतबार घोषणा भएको यो पुरस्कारको राशी दुई हजार अमेरिकी डलर छ। निर्देशक अनुपस्थित भएकाले उनका प्रतिनिधिलाई सो पुरस्कार दिइएको थियो। यसमा घना जंगलमा बर्से्नि बाँस काटेर जीविकोपार्जन गर्ने मान्छेहरुको कथा बुनिएको छ। बाँस काट्ने र ओसार्ने पाँच जनाको समूहले २५ हजार बाँस काटेर नदीमा बगाउँदै तीन सय किलोमिटर लामो यात्रा पार गरेको संघर्षपूर्ण यात्रा देखाइएको छ। फिल्मले बास काट्न उनीहरु परिवारबाट टाढा भई जंगलमै बास बस्नु पर्दाको पीडालाई मार्मिक ढंगले उतारेको छ।
दक्षिण एसियाको प्रतिनिधित्व गर्ने ६३ फिल्म प्रदर्शन गरिएको महोत्सवमा वेस्ट स्टुडेन्ट फिल्म अवार्ड आशिष लिम्बु र देविन राईको संयुक्त निर्देशनमा बनेको ‘द विन्टर ट्याप’ र भारतीय नागरिक ऐश्वर्य ग्रोबर निर्दे्शित ‘मेमोरिज अफ सायरा एण्ड सलिम’ ले जित्यो। ५ सय डलर पुरस्कार राशीको सो अवार्ड यी दुई फिल्मलाई संयुक्त रूपमा प्रदान गरियो। महोत्सवमा इटालियन निर्देशक सिमोनी मेस्ट्रोनी निर्दे्शित ‘आफ्टर प्रेयर्स’ वेस्ट डेब्यु फिल्मतर्फ ‘द तारेक मसुद’ अवार्ड जित्यो।
त्यसै गरी अफगानी नागरिक अबुजार अमिनी निर्दे्शित ‘काबुल सिटी इन द विन्ड’ युनिसेफ नेपाल चिल्ड्रेन फिल्म अवार्ड पाउन सफल बन्यो। जुरी स्पेसल मेन्सन अवार्ड भारतीय निर्देशकहरु हेमन्त कुमार गाभाको ‘एन इन्जिनियर्स ड्रिम’ सुडियो सेनको ‘स्वीमिङ थ्रु द डार्कनेस्’ र जेसे अल्कको ‘परिया डग’ ले प्राप्त गर्न सफल रहे।
रवीन्द्रनाथ टैगोरको कविता ‘ह्वेयर द माइन्ड इज फ्री’ बाट प्रभावित नारा बोकेको यस पटक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, श्रीलङ्का, तिब्बत र म्यानमारलगायतका वृत्तचित्र समावेश थिए।
महोत्सवको पत्रकार कुन्द दीक्षित, श्रीलंकन निर्देशक सुमाथी शिवामोहन र भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहमको निर्णायक टोलीले उत्कृष्ट फिल्महरु छनोट गरेको थियो। सन् १९९७ बाट सुरु भएको फिल्म साउथ एसिया प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ।