तस्वीरः अनलाइन खबर
काठमाडौं– वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ सार्वजानिक भएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ गीतिसंग्रहको विमोचन गरिएको हो ।
कार्यक्रमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा एल्वम विमोचन गरेका थिए। एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै..’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो। ‘उदास जवानी’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो।
दाङको घोराही उपमहानगरपालिका हापुर घर भएका सन्तोष अहिलेका चल्तीका संगीतकार हुन्। उनले संगीत दिएको पहिलो गीत दामु मर्सिफुलले लेखेको ‘आउँछु भनि निष्ठुरीले भर किन पार्नु’ हो। यो गीत सुरुमा रामकृष्ण ढकालले गाएका थिए। त्यतिबेला राम्रो चलेको यही गीतलाई १० वर्षपछि अन्जु पन्त र शिशिर योगीले आवाज दिएका छन्।
सन्तोष श्रेष्ठलाई संगीतकार भनेर चिनाएको गीत भने ‘तिमीले पराई ठानेपछि‘’ हो, जुन सिआर. बिटी.र पिआर बिटीको समयको अत्याधिक सफल गीत हो। लोकराज अधिकारीले लेखेको र अन्जु पन्तले गाएको यो गीतले सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड भएको गीतको रेकर्ड राखेको छ।
सन्तोष श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन्।
संगीतकार श्रेष्ठ भन्छन्, ‘मेरो सबैभन्दा ठूलो उपलब्धी त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महत्वपूर्ण उपलब्धी ठान्छु।’