वीरगञ्ज–पछिल्लो समयमा नेपालका कलाकारहरु जुन बस्तीमा पुग्छन् त्यहाँको बस्तीहरुमा त्यहाँकै पोेशाकमा उपस्थित हुने गरेका छन्।
चर्चित कलाकारहरु वीरगञ्ज आउँदा गम्छासहित धोती कुर्तामा झुल्कने गरेका छन्। करमैत्री यात्रा मार्फत देश दौडाहामा निस्किएका सिस्नुपानी नेपालका हाँस्यकलाकरहरु बुधबार धोती कुर्तामा देखिए।
आन्तरिक राजश्व विभाग काठमाडौंको आयोजनामा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम राखिएको थियो। हाँस्यकलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्षी, शिशिर योगी लगायत सेतो रङगको धोती, कुर्ता र गम्छामा झुल्किए।
किन धोती कुर्तामा त मनोज दाई ?
‘धर्ती हाम्रो घर, आकाश हाम्रो छाना–छानामुनि बरोबरी, हामी सबै जना’ प्रश्न भूँईमा खस्न नपाउँदै मनोज गजुरेलले जवाफ दिए। जुन गजुरेल स्वयंले लेखेको ‘सिंगो धर्ती’ कविताको अंश थियो। जसको अर्थ सजिलै बुझ्न सकिन्छ। ‘मधेसी, पहाडी, हिमाली, हामी सबै नेपाली, सबै समान छौं, एउटै परिवारका सदस्य हौं।’ कवितामा त उनले पूरै विश्वका मानिस बराबर भएको सन्देश दिन खोजेका छन्।
भेषभुषाप्रति गरिएको सम्मानलाई यस क्षेत्रका नागरिकले पनि सकारात्मक रुपमा लिने गरेका छन्। नेकपाका युवा नेता अरविन्द सिंह कलाकारले धोती कुर्ता लगाएर सामाजिक एकताको सन्देश दिन खोजेको बताउँछन्। ‘धोती, कुर्ता, गम्छा मधेसको पहिचान हो, विगतमा राजनीतिक नेतृत्वले यसो गर्थे तर नेताले गर्दा नाटकको रुपमा लिइन्थ्यो। तर कलाकार सबैका साझा हुन्छन्। धोती कुर्ता गम्छा लगाएर कलाकारले मधेसको पहिरन प्रतिको सम्मान दर्शाए।’ उनले भने ‘यसले फरक–फरक समुदायका बेग्दा बेग्लै पहिचान, भाषा र सँस्कृति छन तर यो हामी सबैको साझा हो । यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन्छ।’ पछिल्ला दिनमा शहरका मानिसले धोती कुर्ता लगाउन छोडेको र ग्रामिणक्षेत्रका पुराना पुस्ताले मात्रै पहिचान धानेको उनको भनाई छ।
सामाजिक एकताकै सन्देश दिन कात्तिक २२ गते वीरगञ्जमा आयोजित सप्तरंग श्रृंखलामा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल धोती कुर्तामा देखिएका थिए। कलाकारहरुले यसरी देखाउँन खोजेको एकताको सन्देशले थोरै भएपनि एकतामा जोड दिन्छ कि?