काठमाडौं– अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का यसै बर्ष राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भइन्। चलचित्र ‘बुलबुल’ मा उनले गरेको अभिनयकै कारण उनी ‘उत्कृष्ट नायिका’को पुरस्कार पाउन सफल भएकी थिईन्।
यो पुरस्कार पाएपछि स्वस्तिमाबाट दर्शक,फिल्म निर्माता र समिक्षकलाई अपेक्षा पनि बढी भयो। उनले अभिनय गरेका चलचित्रको व्यापार अर्को पाटो भयो, उनको अभिनयमा धेरैको नजर गयो।
तर, यो पुरस्कार पाएपछि स्वस्तिमाको अभिनयको चर्चा कमजोर बनेको छ। उनले अभिनय गरेका दुई चलचित्र ‘हजार जुनी सम्म र घामड शेरे’ यो बर्ष रिलिज भैसकेका छन्। दुबै चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लिएका छन्। दुबै चलचित्र हेरेर दर्शकले स्वस्तिमाको कामको प्रशंसा गर्न सकेनन्। न त समिक्षकले नै उनको कामको तारिफ गरे। बरु, स्वस्तिमाको यस्तो अभिनयले उनलाई करिअरको एउटा उचाइमा लैजान नसक्ने टिप्पणी भयो।
एकातिर, बक्स अफिसमा चलचित्र चिप्लनु, अर्को्तिर अभिनयमा पनि कुनै चर्चा नहुनु, स्वस्तिमाका लागि फाइदाको कुरा होइन। किनकि अहिले चलचित्र क्षेत्रमा कलाकारहरुको कमी छैन। कलाकार भएपछि हरेक किसिमका चलचित्र गर्न सक्नुपर्छ। स्वस्तिमाले पनि आफूले ‘मास र क्लास’ दुबै प्रकारका चलचित्र गर्दै आएको बताउँदै आएकी छिन्।
छायांकनमा जाने तयारीमा रहेको ‘चपली हाइट ३’ यो बर्ष नै रिलिज हुने चर्चा छ। यो चलचित्रबाट स्वस्तिमाले अभिनयमा हुँदै आएको टिप्पणीको दरिलो जवाफ दिन आवश्यक छ। होइन भने, स्वस्तिमाबाट दर्शक निराश बन्नेछन्। यस्तो भएको खण्डमा चलचित्रमा दरिलो उपस्थिती जनाउँदै गरेकी नायिकाका लागि सुखद कुरा पक्कै हुने छैन। त्यसैले उनको लागि परिस्थिति सोचेका भन्दा अप्ठ्यारो छ।