काठमाडौं–नेपाली चलचित्र कर्मीको एउटा सोच छ, नायिका पर्दामा बोल्ड एन्ड ब्यूटी देखिनुपर्छ। धेरै निर्माता निर्देशकहरु यस्तो कुरा सोच्छन् र आत्मसाथ पनि गर्छन्। यो कुरामा नायिका नम्रता श्रेष्ठको गुनासो मात्र होईन आपत्ति छ। आफूलाई विभिन्न अवतारमा प्रस्तुत गर्न चाहने नम्रता नायिका जहिल्यै सुन्दर देखिनुपर्छ भन्ने कुरामा सहमत छैनन्। उनी भन्छिन् ‘यहाँ त हस्पिटलको बेडमा रहेकी नायिकालाई पनि मेकअप गरिन्छ। कपाल मिलाइन्छ , त्यो कुरा गलत हो।’ यस्ता कुराहरुले चलचित्र वास्तविक देखिनबाट चुक्ने नम्रताको भनाई छ।
नायिकाहरुले केही फरक गर्नको लागि खराब मेकअप, छरपष्ट कपाल र भूमिका सुहाउँदो पहिरन लगाए ‘छ्या’ को गाली आउने नम्रताको बुझाई छ। तर, सोही कुरा कुनै नायकले गर्दा भने तारिफ पाउने गर्छन्। यो पनि नम्रतालाई बिझाउने कुरा हो।
‘भुईमा लडिबुडी गरेर रुनुपर्ने दृष्य हुन्छ’, नम्रता भन्छिन् ‘त्यहाँ पनि निर्देशकले भन्नुहुन्छ, ‘अलि राम्रोसँग रोउ है’। ‘नायिकाहरुलाई एउटै प्रकारको भूमिकामा काम गरेको दोष यही कारणले आउने गरेको उनले सुनाइन्। नम्रता भन्छिन् ‘यदि नायिकाले पनि नायक सरह खुल्लापन दिने हो भने वा राम्री देखिनुपर्छ भन्ने भ्रमबाट निस्केर काम गर्ने हो भने काम देखिन्छ। नायिकाको भूमिकालाई पनि महत्व दिएर लेख्न सकिन्छ।’
नम्रता श्रेष्ठ अभिनित पछिल्लो चलचित्र ‘जाइरा’ हो। यो चलचित्रमा नम्रताले आफूलाई भिन्न अवतारमा प्रस्तुत गरेकी थिइन्। प्राय लभर गर्लको भूमिकामा देखिदै आएकी नम्रता उक्त चलचित्रमा भने बक्सरको भूमिकामा थिइन्।
तर बिडम्बना, नम्रताको एक्सन चलचित्रलाई दर्शकले रुचाएनन्। समिक्षात्मक रुपमा पनि कमजोर बनेको यो चलचित्र व्यापारिक रुपमा पनि कमजोर रह्यो। नम्रताले अहिले नयाँ चलचित्र साइन भने गरेकी छैनन्। सत्य तितो हुन्छ,उनको बिचारलाई मान्नैपर्छ तर त्यही सत्यलाई पनि नपचाउँने कोही छन् कि?