काठमाडौं–सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब विदेशी सिनेमामाथि कोटा प्रणाली लागू हुने बताएका छन्।
सोमबार एक कार्यक्रममा कुरा गर्दै मन्त्री बाँस्कोटाले मन्त्रालय सोसम्बन्धी कानुन बनाउने काम गरिरहेको बताए। ‘संसारका अरू देशमा पनि विदेशी सिनेमालाई कोटा लगाउने गरिएको छ। भारत,चीनले नि लगाउँछन्। अब हामी पनि लगाउँछौं’, उनले भने।
उनले नेपाली सिनेकर्मीहरूले महत्वपूर्ण रूपमा अघि सार्दै आएको कोटा प्रणालीको माग अब आउने कानुनले सम्बोधन गर्नेमा ढुक्क हुन आग्रह गरे। ‘क्लिन फिड लागु गराउने विज्ञापनसम्बन्धी विधेयक पारित भइसकेको छ। अब सिनेमा पनि कोटा प्रणाली लागु हुन्छ’, उनले भने।
मन्त्री बाँस्कोटाले विदेशी सिनेमामा अब आउने कोटा प्रणालीले नेपाली सिनेमा निर्माताहरूलाई गुणस्तरीय र पुग्दो सिनेमा निर्माण गर्ने चुनौती थपेकाले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताए। ‘कोटा लाग्दैमा मात्र हुँदैन गुणस्तर र बजारलाई पुग्नेगरी सिनेमा बनाउनुपर्ने चुनौती यसले थप्ने छ’, उनले भने।
यसैगरी मन्त्री बाँस्कोटाले यसका लागि मन्त्रालय थप सुझाव र बहस गर्न तयार रहेकाले नेपाली सिनेकर्मीबाट यी कुराको अपेक्षा मन्त्रालय राखेको पनि भनाइ राखेका छन्। अहिले नेपालमा विदेशी सिनेमा ल्याउन कुनै सीमा छैन। नेपालमा प्राय बलिउड र हलिउडका सिनेमा हरेक साताजसो रिलिज हुने गरेका छन्।
नेपाली सिनेमा निर्माताले आफूहरू विदेशी सिनेमाको चेपुवामा पर्ने गरेको र हल तथा वितरकले विदेशी सिनेमा त्यसमा पनि विशेषगरी बलिउड सिनेमाका कारण आफूहरूलाई पेल्ने गरेको गुनासो गर्दै आइरहेका छन्। लगातार यो चुनौती खेप्दै आएका नेपाली सिने कर्मीलाई यो कुराले निकै आशावादी बनाएको छ।