काठमाडौं– तिहार सकिए लगत्तै वायु प्रदूषणको चाप बढ्दै गएको छ। दिल्लीमा वायु प्रदूषणको मुख्य कारण पटाका र खेतमा जलाईने पराललाई मानिएको छ। त्यसको विषाणु धुवाँले मानिसको स्वास्थमा गम्भीर असर पारिरहेको छ। दिल्लीसँगै नेपालमा पनि दुई तीन दिनदेखि वायु प्रदूषणको प्रभाव बढेको पाइएको छ। हरेक वर्ष यही समयमा वायु प्रदूषणको प्रभाव हुुने भएतापनि यो वर्ष अलिक बढी प्रभाव भएको पाइन्छ।
देशको विभिन्न स्थानहरुमा वायु प्रदूषणको नकारात्मक प्रभावले मानिसहरु विभिन्न रोगबाट ग्रसित भइरहेका छन्। आज हामी जुन वातावरणमा बाँचिरहेका छौं, जसमा वायु प्रदूषण चरम स्तरमा पुगेको छ।
विश्व स्वास्थ्य संगठनद्वारा हालसालै जारी गरिएको आँकडा अनुसार आज विश्वका ९२ प्रतिशत जनसंख्या त्यस्तो क्षेत्रहरुमा बसोबास गरिरहेका छन्, जहाँ वायु प्रदूषण विश्व स्वास्थ संगठनद्वारा निधारित सुरक्षा सीमाहरुभन्दा धेरै छ। बढ्दो वायु प्रदूषण गम्भीर स्वास्थ्य समस्याहरु र मृत्युको एक प्रमुख कारणको रुपमा अगाडि आएको छ।
हाम्रो स्वास्थ्य र वायु प्रदूषणः
वायु प्रदूषणको प्रभाव हाम्रो शरीरको प्रत्येक अंग र तिनीहरुको कार्य प्रणालीमा पर्दछ। जसको कारण मुटु रोग, स्ट्रोक, श्वास सम्वन्धी समस्या, मधुमेह, बाँझोपना जस्ता अनेकौं रोगहरुको आशंका बढ्न थालेको छ।
हालसालै गरिएको एउटा अध्ययन अनुसार जुन व्यक्तिहरु धेरै ट्राफिक भएको ठाउँमा बसोबास गर्छन्, उनीहरुको प्रजनन क्षमतामा ११ प्रतिशतले कमी आउँछ। आज हामी विषालु हावामा सास फेर्नाले प्रजनन क्षमतामा प्रत्यक्ष रुपमा पर्ने नकारात्मक प्रभावको बारेमा केही जानकारी लिएर आएका छौं।
प्रजनन क्षमतामा वायु प्रदूषणले पार्ने प्रत्यक्ष प्रभावहरुः
मासिक चक्र सम्बन्धी अनियमितता– वातावरणको प्रदूषणले महिलाको अण्डाको गुणस्तर तथा सेक्स हार्मोनहरुलाई नकारात्मक रुपले प्रभावित गर्छ। जसको सिधा प्रभाव मासिक चक्रमा समेत पर्छ। यसले महिनावारी ढिला हुनु अथवा हुँदै नहुनु जस्ता समस्याहरु उत्पन्न हुन्छन्। जसका कारण गर्भधारण गर्न कठिन हुन्छ।
बढ्दो गर्भपतनको खतरा– जुन महिलाहरु त्यस्ता क्षेत्रहरुमा बसोबास गर्छन्, जहाँ वायु प्रदूषण २र५ पिएम, १० पिएम, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन र सल्फर डाइअक्साइडको मात्रा धेरै हुन्छ। उनीहरुमा गर्भपतनको खतरा धेरै हुन्छ।
वीर्य र शुक्राणुहरुको गुणस्तर र मात्रा प्रभावित हुनु– वायुमा समावेश प्रदुषित कणहरुले वीर्यको गुणस्तरलाई प्रभावित गर्छ। शुक्राणुहरुको संख्या कम हुन्छ। तिनीहरुको संरचनामा परिर्वतन आउँछ र तिनीहरुको गतिशीलता पनि प्रभावित हुन्छ। जसका कारण पुरुषमा पनि बाँझोपनाको खतरा बढ्छ।
अण्डाको गुणस्तर प्रभावित हुनु– पार्टिकुलेट मेटर (पिएम) ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनो अक्साइड, भारी धातुहरु र हानिकारक रसायनहरुको एक्सपोजरले महिलाहरुमा अण्डाको गुणस्तरलाई प्रभावित गर्छ। अण्डामा हुने खराबी महिलाहरुमा बाँझोपनको एउटा प्रमुख कारण हो।
अहिले बढेको वायु प्रदूषणको तुलनामा तीन दशक पहिलाको एक सामान्य पुरुषमा शुक्राणुहरुको संख्या औषत् ६ करोड मिलिलिटर हुन्थ्यो। अहिले यो घटेर दुई करोड मिलिलिटर भएको छ।
मृत बच्चा जन्मन सक्ने सम्भावना– प्रदूषित वातावरणमा बसोबास गर्ने महिलाहरुले मृत बच्चा जन्माउने आशंका धेरै हुन्छ। त्यति मात्र नभएर बच्चा जन्मँदा कम वजनको जन्मने, समयभन्दा अगाडि नै जन्मने, बच्चामा जन्मजात विकृतिहरु हुन सक्ने खतरा पनि अधिक हुन्छ।